सामुदायिक विद्यालयको ऐना, यसैमा छन् शैक्षिक गुणस्तर सुधार नहुनुका केहि रहस्यहरू

No photo description available.

Shyam Prasad Acharya (Author)

परिचय

पछिल्ला दिनहरूमा नेपालको विद्यालय शिक्षाको गुणस्तर खस्किँदो छ भन्ने समाचारहरू हरेकजसो शैक्षिक बहसमा सुन्ने गरिएको छ । मंत्रालयले गुणस्तरलाई पहिलो प्राथमिकता राखेको छ । तर प्रगतिमा निराशा छ । सुधारको संकेत पनि छैन । हुनत गुणस्तर सापेक्षित हुन्छ । केही नसिकेको भन्ने हैन । युनेस्कोले गुणस्तरीय शिक्षाको फ्रेमवर्कमा लगानी र प्रकृया गुणस्तरीय भएमात्र शिक्षा गुणस्तरीय हुन्छ भन्छ । हामी न लगानी गुणस्तरीय बनाउन सकेका छौँ न त प्रकृया नै । पहिलेका योजनाहरू लगानिमा केन्द्रित रहे । यसबाट भर्नादरमा राम्रो सुधार त भयो तर गुणस्तर भने झन् खस्किदै गयो । एसएसआरपीले पहुँचको क्षेत्रमा सफलता हाँसिल भयो अव गुणस्तरमा लाग्नु पर्ने भनी गुणस्तर भन्यो । एसएसडिपीमा पनि त्यही कुरा दोहोरियो । मंत्रालयकै निकाय शैक्षिक गुणसस्तर परीक्षण केन्द्रले गुणस्तरमा सुधार भएको छैन भन्ने आधारहरू दिइरहेको छ ।

गुणस्तरको तुलना गर्दा प्रदेश नं ३ केही राम्रो मानिन्छ । सोही प्रदेशको प्रतिनिधि सामुदायिक विद्यालयमा एउटा अध्ययन भयो । स्तरिकृत साधन विधिबाट कक्षा ९ मा अध्ययन गर्ने ८६ जना विद्यार्थिहरूमा अनुसन्धान गरियो । ती विद्यार्थिहरूलाई अभिमुखिकरण गरियो । गणित र विज्ञान विषयका परीक्षा लिइयो । विद्यालयको कार्यसम्पादन परीक्षण गरियो । विद्यार्थिको पृष्ठभूमी र प्रतिकृया लिइयो ।  विद्यार्थी र प्रधानअध्यापकको प्रतिकृया, उत्तर, प्राप्ताङ्कको विष्लेषण गरियो र सबै सरोकारवालाहरूलाई उपस्थित गराई नतिजा सार्वजनिक गरी सुधारको लागि सुझाव दिइयो ।

सामुदायिक विद्यालयमा विद्यालयको कार्यसम्पादन परीक्षणबाट आएको नतिजा अनुसार विद्यालयको व्यवस्थापकीय नेतृत्व र शिक्षकहरुको शिक्षण सिकाइ क्रियाकलापमा खास समस्या देखियो । विद्यालयका गतिविधिहरूको पारदर्शिता कमजोर रहेको पाइयो भने समुदायको सहभागितामा पनि धेरै नै समस्या देखिएको छ । एकातिर शिक्षण सिकाइ प्रकृया कमजोर हुँदै गएको पाइयो भने २१औ शताब्दि अनुकुलको प्रविधि प्रयोग पनि नभएको पाइएको छ ।

अध्ययनका क्रममा विद्यार्थिहरुमा एक प्रकारको विचलन देखा पर्यो । उत्तर दिन आँफैमा आत्मविश्वास नै देखिएन । साथिको उत्तर सार्न वा सोध्न धेरै नै प्रयास गरेको पाइयो भने परीक्षणमा सहभागी शिक्षक र प्र.अ.को अनुरोधलाई पनि अवज्ञा गरिरहेको पाइयो । यो अवस्था देखिसकेपछि विद्यार्थिहरूलाई प्रश्न पनि गरियो “तपाइहरु परीक्षामा कति प्रतिशत साथिको उत्तरको भरमा लेख्नुहुन्छ?” विद्यार्थिको जवाफ थियो करिव ४०˗५० प्रतिशत भनी कमजोर विद्यार्थिले भनेका थिए भने करिव १० प्रतिशत भनी कक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थिहरुले भनेका थिए । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको एउटा अध्ययनले के जनाउँछ भने विद्यार्थिहरू चिट चोर्ने र साथिको सार्ने गर्दा भन्दा स्वच्छ वातावरणमा अरुको आश नगरी लेख्ने वातावरण पाएमा राम्रो नतिजा ल्याउन सक्दछन् । त्यसैले परीक्षा प्रणालिमा सुधार मात्र गर्न सके पनि शिक्षाको गुणस्तरमा सुधार हुन सक्छ र शैक्षिक उपलब्धि पनि बढाउन सकिन्छ ।

अध्ययनको क्रममा कक्षा ८ भन्दा पहिलेका कक्षाहरुमा नै सिक्नु पर्ने आधारभूत ज्ञान नै विद्यार्थिहरूमा विकास नभएको पाइयो । कक्षा ८ भन्दा पहिला नै सिक्नु पर्ने कुराहरु केवल ३३ प्रतिशत विद्यार्थिहरूले मात्र हल गर्न सकेको पाइयो । यसबाट के कुरा उजागर हुन्छ भने ठूलो कक्षाको पढाइ कमजोर देखिनु सानो कक्षाका आधारभूत कुराहरुमा नै विद्यार्थिहरूलाई समस्या भएर हो । शिक्षाको गुणस्तर सुधार गर्नका लागि आधारभूत तहमा नै खास ध्यान दिइनु पर्दछ ।

विद्यार्थिहरुको सिकाइमा उनीहरुको परिवारको सामाजिक आर्थिक अवस्था र शिक्षकको योगदानले प्रभाव पार्दछ भन्ने कुरा अन्तराष्ट्रिय अध्ययनहरुले देखाएका छन् । विद्यार्थि उपलब्धिको राष्ट्रिय परीक्षणको नतिजालाई हेर्ने हो भने यसको मात्र नेपालमा ज्यादै उच्च छ । उच्च सामाजिक आर्थिक अवस्था भएका परिवारबाट बालबालिकाहरूलाई सिकाइमा धेरै सहयोग हुने देखिएको छ भने न्यून सामाजिक आर्थिक अवस्था भए सोही अनुसार परिवारको सहयोग घट्दछ । यस अध्ययनका क्रममा के पाइयो भने केवल २० प्रतिशत बालबालिकाहरूका बाबु वा आमाको मासिक तलव आउँछ भने अरु करिव ६० प्रतिशत कृषि पेशामा मात्र छन् भने केही घरमा नै दिन विताउँछन् । यी अभिभावकहरुमध्ये एस.ई.ई. वा सो भन्दा बढी अध्ययन गर्ने बाबु ९ प्रतिशत छन् भने आमाको योग्यता कक्षा ८ वा सो भन्दा थोरै नै पाइयो । घरमा कुनै प्रकारको पढाइमा सहयोगको गुन्जाइस नै नभएका विद्यार्थिहरूको संख्या नै ४० प्रतिशतको हाराहारिमा रहेको पाइयो । बाबु ७ प्रतिशत र आमा १८ प्रतिशत निरक्षर रहेको बताउने विद्यार्थिहरूले घरमा सिकाइदिने ब्यक्ति नहुँदा कठिन भएको समेत बताएका छन् ।

यो विद्यालय कुनै वेला अधिकांश विद्यार्थि उच्च अंकका साथ उत्तिर्ण गराउने विद्यालय हो भने आज ५ प्रतिशत मात्र पास गराउने विद्यालयमा झरेको पनि उदाहरण छ । उक्त विद्यालयमा एक जना मात्र विद्यार्थिले आफ्ना अभिभावक कर्मचारी र एकजनाले शिक्षक भएको बताए भने निकै कमले मात्र अस्पताल वा होटेलमा जागिर गर्ने बताएका छन् । साथै राजनीतिक कार्यकर्ताहरूका छोराछोरी पनि नभएको पाइएको छ किनभने कसैले पनि राजनीतिमा संलग्न भएको बताएका छैनन् । यसरी समाजको उदाहरण बनेका, पढे लेखेका, कमाइ गर्ने, राजनीतिज्ञ, ब्यापारीहरूका छोराछोरी नै उक्त विद्यालयमा अध्ययन नगरेको पाइयो । शिक्षक उनै हुन्, विद्यालय उही हो । कुनै बेला अधिकांश विद्यार्थि उच्च अंकमा उत्तिर्ण गराउन सफल विद्यालय आज किन कमजोर अवस्थामा पुग्यो भन्ने कुराको रहस्य यही कतै खोज्न जरूरी छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरूमा शिक्षक, विद्यालय र समाजको अवस्थाका बारेमा भने राम्रो ज्ञान र विवेक रहेको पाइयो । आफ्नो पढाई कमजोर भएको कारणमा पनि उनीहरू जानकार छन । उनीहरु अध्ययन गर्ने वातावरण नभएको पनि बताउँछन् । करिव ४० प्रतिशत विद्यार्थिहरूले आँफुले घरमा अध्ययन र गृह्यकार्य नै नगर्ने बताएका पनि छन् । अध्ययनमा सहभागी विद्यार्थिहरूले विद्यालय, शिक्षक र आँफैले के गर्यो भने विद्यालय शैक्षिक थलो बन्दछ भन्ने कुरा ब्यक्त गरेका छन् । उनिहरूले ब्यक्त गरेका विचारहरू शिक्षा क्षेत्रमा विद्यावारिधि गरेका विद्वानका भन्दा कम छैनन् बरू अझै बढी ब्यबाहारिक र स्पष्ट छन् ।

विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि के गर्नु पर्ला भन्ने प्रश्नमा विद्यार्थीहरूले यस्ता कुरा व्यक्त गरेका छन् ˗ सहपाठी विद्यार्थीहरूमा अनुशासनको कमी छ । विद्यालय वरिपरि लागु पदार्थ सेवन गर्न नहुने, विद्यालय परिसरमा सरसफाइ गरी होहल्ला रहित स्वच्छ वातावरण हुनु पर्ने बताएका छन् । शिक्षकहरूले सबै विद्यार्थीहरूलाई समान र सम्मान पूर्ण व्यवहार गर्नुपर्ने, विद्यार्थीहरूको आत्मविश्वास बढाउने तथा उनीहरूका समस्या बुझी आवश्यक परामर्श उपलब्ध गराउनु पर्ने र दण्डरहित कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । शिक्षण सिकाई क्रियाकलापहरू सञ्चालन गर्दा समूह बनाई पढाउनु पर्ने, परियोजना कार्य, रमाइलो गरी पढाउने, उनीहरूका कुरा सुनिनु पर्ने, दिनदिनकै नयाँ कुराको खोजी गरी आधुनिक तरिकाले शिक्षण गर्नु पर्ने कुरा उल्लेख गरेका छन् । विद्यालय सधै खुला गर्नु पर्ने, पुस्तकालयमा कम्तीमा एक घण्टी पढ्ने अवसर दिइनु पर्ने, पुस्तकालयमा पुस्तकहरूको व्यवस्था हुनु पर्ने, कम्प्युटरहरू थपिनु पर्ने, राम्रो धारा पानीको व्यवस्था हुनु पर्ने, शिक्षकहरूलाई शैक्षिक सामग्रीहरूको व्यवस्था हुनु पर्ने कुरा जोडदार रूपमा उठाएका छन् । विद्यार्थीहरूका यी सुझावहरूले के उजागर गर्छन् भने विद्यालयमा पढाइका लागि उपलब्ध साधन स्रोतको अभाव छ भने भएका सुविधाहरूको प्रयोमा पनि ध्यान दिइएको छैन । पुस्तकालय स्थापना गर्नेमा ध्यान जाने तर त्यसको प्रयोगमा उदासीनता देखाउने गरिएको कुरा उजागर भएको छ । कठिन विषयहरूमा कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने साथै, विद्यालयमा गरिब विद्यार्थीहरूलाई प्राथमिकतामा राखी छात्रवृत्ति दिइनु पर्ने, भ्रमण र खेलको व्यवस्था हुनु पर्ने, वेला बेलामा परीक्षा गरी अभिभावक भेला बोलाई विद्यार्थिको सिकाइको अवस्थाको बारेमा अभिभावकलाई सुझाव दिइनु पर्ने, र प्रधानाध्यापकले शिक्षकहरूको निगरानी गर्नुपर्ने बताएका छन् । विद्यार्थीहरूका यी सुझावहरू उनीहरूले अनुभूत गरेका भोगाइका आधारमा दिएका हुनाले मनन योग्य र वास्तविक छन् । उनीहरू शिक्षकहरूलाई पनि धेरै सुझावहरू दिएका छन् ।

विद्यालयमा शिक्षकहरूले के गर्नु पर्छ भन्ने प्रश्नमा विद्यार्थीहरू बीच निष्पक्ष व्यवहार गर्नुपर्ने, विद्यार्थीहरूलाई अनुशासनमा राख्नु पर्ने, चलाखलाई भन्दा कमजोरलाई ध्यान केन्द्रित गर्नु पर्ने, सबैलाई प्रश्न सोध्ने गर्नुपर्ने बताएका छन् । यसबाट शिक्षकहरू कक्षामा जान्ने विद्यार्थीहरूलाई मात्र प्रश्न गर्ने र छलफलमा सहभागी गराउने तर कमजोर विद्यार्थीलाई ध्यान नदिने गरेको कुरा इङ्गित गर्दछ । विद्यार्थीहरूले शिक्षकहरूले प्रयोग गरेर देखाउनु पर्ने, उनीहरू प्रति नम्र व्यवहार देखाउनु पर्ने, साथीको व्यवहार गर्नुपर्ने, नकुट्ने, कारण बुझेर समस्या हल गर्नु पर्ने तथा नराम्रो काम गर्ने विद्यार्थीहरूका अभिभावकलाई बोलाएर सुधारको उपाय खोजी गर्नु पर्ने सुझाव दिएका छन् । उनीहरू कक्षामा कुनै विद्यार्थी सिकाइमा सहभागी छ कि छैन भनी हेर्ने, सबैलाई उपस्थित गराउने तर्फ ध्यान दिनु पर्ने, नयाँ नयाँ कुरा सिकाउनु पर्ने, बुझ्ने भाषामा सिकाउनु पर्ने र सोधेको प्रश्नको नझर्कि नै उत्तर दिइनु पर्ने माग राखेका छन् । गुरु गुरुआमाले पनि विद्यालयको सरसफाइमा ध्यान दिनु पर्ने, विद्यार्थीको भलाइ चाहनु पर्ने तथा शिक्षकहरू एक आपसमा मिलेर बस्नु पर्ने बताएका छन् । उनीहरूका यी सुझावले विद्यालयमा शिक्षक र विद्यार्थीहरू बीचको सम्बन्ध र विद्यालयको सिकाइ वातावरणमा सुधार गर्न चाल्नुपर्ने धेरै कदमहरू तत्काल चाल्न सकिने देखिन्छ । उनीहरू शिक्षकहरू कक्षामा ठीक समयमा आउनु पर्ने तथा दायाँबायाँ कुरा नगरी शिक्षण सिकाइ गराउनु पर्ने माग राखेका छन् । साथै शिक्षकहरूपनि विद्यालयको ड्रेसमा आउनु पर्ने बताउँछन् ।

त्यसैगरी विद्यार्थीहरू उनीहरूका आफ्ना व्यवहारहरूमा पनि समस्या भएको विचार व्यक्त गरेका छन् । शैक्षिक सुधारका लागि उनीहरूले आँफु र साथीहरूबाट अपेक्षा गरेका सुधारका उपायहरूमा कक्षा कोठाको सरसफाइ आँफै गर्ने, एक अर्कामा सोधेर पढ्ने लेख्ने, विद्यालयको अरेक कार्यमा सहभागी हुने, समूह बनाएर पढ्ने, गृह्य कार्य गर्ने, नियम पालना गर्ने, सफा भई पोसाकमा आउने, हल्ला नगर्ने तथा नजानेको कुरा खुल्ला रूपले राख्नुपर्ने बताएका छन् । साथै शिक्षकहरूलाई आदर गर्ने र शिक्षक नआएको बेला पढेर बस्नु पर्ने पनि उल्लेख गरेका छन् । यी विचारहरूले सामुदायिक विद्यालयका कक्षाहरू कसरी चल्ने गरेका छन् भन्ने कुरा उजागर गरेका छन् । विद्यार्थीहरूका यी विचार र अनुसन्धानले देखाएका तथ्यहरूले नेपालको विद्यालय शिक्षाको अवस्थालाई प्रतिनिधित्व गरेको छ । तमाम यी विचारहरूका बीच समस्या मात्र हैन सुधारका उपायहरू पनि प्रष्ट रूपमा देखिएका छन् ।

अबको बाटो

शैक्षिक वातावरणमा सुधार नगरेसम्म शैक्षिक गुणस्तरमा सुधार ल्याउने कुरा कल्पना पनि गर्न सकिँदैन । सामुदायिक विद्यालयहरूमा व्यवस्थापकीय नेतृत्व र शिक्षकहरुको शिक्षण सिकाइ क्रियाकलापमा सुधार र विद्यालयका गतिविधिहरूमा पारदर्शिता ल्याउनु पर्दछ समुदायको सहभागितामा वृद्धि पर्दछ । मूल्याङ्कन प्रकृयाबाट सुरूवात गरिनु पर्दछ जसले शिक्षण सिकाइ प्रकृयालाई डोहोर्‌याउन सकिन्छ । सामुदायिक विद्यालयमा न्यून सामाजिक आर्थिक अवस्था भएका विद्यार्थिहरूको बाहुल्यता छ त्यसैले कमजोर विद्यार्थिहरूलाई विद्यालयले नै सिकाइको थप अवसर उपलब्ध गराउनका लागि कठिन विषयहरूमा रिमेडियल शिक्षणको व्यवस्था गरिनु पर्दछ । विद्यालयमा शिक्षण गर्दा आधारभूत विषयवस्तुहरूको ज्ञान र सीप सबै विद्यार्थिहरूमा विकास गराउने अभियान हरेक विद्यालय र शिक्षकले चलाउनु पर्दछ । स˗साना कुराहरूमा गरिएका सुधारले समग्र प्रणालिमा सुधार आउँछ भन्ने कुरा विर्षिनु हुँदैन । त्यसैले विद्यालयहरूमा सिकाइको वातावरण बनाउनका लागि उचित सरसफलाई, खानेपानी, शौचालय,  पुस्तकालय, सूचना प्रविधि जस्ता कुराहरू न्यूनतम आवश्यकताको रूपमा परिभाषित गरी अनिवार्य ब्यवस्था र शिक्षण सिकाइमा उपयोग गर्ने परिपाटिको विकास गर्नु पर्दछ । यस आलेखमा विद्यार्थिहरूले व्यक्त गरेका अभिव्यक्ति र सुझावहरूलाई सबै विद्यालय र शिक्षकहरूले मनन गरी सबै खाले विद्यार्थिहरूलाई समान र सम्मानपुर्वक व्यवहार गरी अन्तरकृयात्मक र आधुनिक तरिकाले शिक्षण गर्नु पर्दछ । यसको लागि शिक्षक र विद्यालय प्रतिवद्ध हुनु पर्दछ । =

यो लेख लेखकको निजी विचार र विद्यालयको case study बाट प्राप्त नतिजामा आधारित छ । यसमा प्रस्तुत विचार शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आधिकारिक विचार हैन । विद्यालयको नाम सार्वजनिक गरिएको छैन । प्रस्तुत नतिजाहरू विद्यालयमा व्यवस्थापन समित, अभिभावक, स्थानीय सरकारका पदाधिकारी, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतको आम भेलामा प्रस्तुत गरिसकिएको  छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई आधिकारिक रूपमा अनुसन्धानमा निमन्त्रण गरी विद्यालयका समस्याहरूको खोजि गर्न अनुरोध गरिएको थियो ।

अनुसन्धानमा संलग्नः

  • हरि प्रसाद अर्याल, निर्देशक शैक्षिक गुणस्तर परीक्षण केन्द्र
  • लभदेव भट्ट, प्राविधिक अधिकृत, शैक्षिक गुणस्तर परीक्षण केन्द्र
  • श्याम प्रसाद आचार्य, प्राविधिक अधिकृत, शैक्षिक गुणस्तर परीक्षण केन्द्र

यो आलेख Education Review Office, Nepal (ero.gov.np) मा प्रकाशित भै सकेको छ ।